काठमाडौं, २४ कात्तिक । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति जनाए । नेता ढकालको रिहाईको लागि आफूहरुले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनको चेतावनी थियो ।
गत कात्तिक २० गते कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेको आरोपमा पक्राउ परेका काभ्रेका १६ वर्षीय कृष्ण ढकालले अन्जानमा सेयर भएको भनेर माफी माग्दासमेत हिरासतमा राखिएको भन्दै सभापति महरले तत्काल रिहाई गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्