सभापति देउवाको कांग्रेस नेता गगन थापाद्धारा चर्को आलोचना

काठमाडौं, कात्तिक २४ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्।
नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्को आलोचना गरेका छन्।
शनिबार काठमाडौँमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रममा बोल्दै नेता थापाले सभापति देउवाको कार्यशैली पार्टीका लागि खतरनाक हुने चेतावनी पनि दिए। थापाले विधान विपरित जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई सचेत गराएका छन्।
नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरेका छन्।
सर्वोच्च नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौँले रातोपुलमा सो स्मृति भवन बनाएको हो।
प्रतिक्रिया दिनुहोस्