जंगलीहात्तीको झुन्डले घर भत्कायो, ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय ! Jagaran News Published On : 9 November, 2018 11:07 am कन्चनपुर, कात्तिक २३ । तिहारको दिनमै कन्चनपुरको बेदकोट नगरपापलिका–१०, रानादैजीका तीनजनाको घर जंगलीहात्तीको झुन्डले भत्काइदिएको छ । बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुन्डले भत्काएको हो । हात्तीले घर भत्काइ भन्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ । लुगा, कागजपत्र, बाकस, ग्यास सिलिन्डर, दराज, पंखा, टीभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ । घरनजिक लगाएको तरकारी नस्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुन्डले उखेलेको छ । राति १२ बजे २० भन्दा बढीको संख्यामा रहेको हात्तीको झुन्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो । हात्तीको झुन्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए । ‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो’–उनले भने–‘घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर बिचल्लीमा पारेको छ ।’ ‘ज्यान त बल्लतल्ल जोगायौं’, घर जोगाउन सकिएन’–उनले भने । अन्न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का खेमराज रानाले बताए । उनले भने–‘हात्तीले बिजोग पार्यो । खानासमेत अरुबाट मागेर खानुपरेको छ ।’ खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् । यसैबीच, शुक्रबार बिहान सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिए । उनकाअनुसार हात्तीको झुन्डले तीनओटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नस्ट गरेको छ । खड्काले भने–‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ । तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।’ रासस
प्रतिक्रिया दिनुहोस्