कुलमानले भने- दिल खोलेर बत्ती बाल्नुस् – ‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’

काठमाडौँ, २१ कात्तिक ।  नेपाल विद्युत प्राधिकरणले आजको लक्ष्मीपूजाको दिनका लागि आवश्यक सबै तयारी सकाएको छ । देशभर कतै लाइट नकाटिने वातावरण बनाउन प्राधिकरणका कार्यकारी निर्देशसहित उच्च अधिकारीको टोली अहिले काठमाडौंमा विभिन्न वितरण केन्द्र र सबस्टेसनहरुको निरीक्षणमा निस्किएको छ ।
प्राधिकरणले समग्र तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । ‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयाे, ’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’ उहाँले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पार्नुभयाे ।
यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाका दिन बेलुकी कतैपनि लाइन नजाने गरी व्यवस्थापकीय तयारी गरेको छ । लक्ष्मी पूजाका दिन सबैतिर झिलिमिली बनाउन अधिकांश घरमा बत्ती सजाएको छ । वर्षमै सबैभन्दा बढी बिजुलीको माग यसै दिनमा हुन्छ । त्यसैले यस्तो महत्वपूर्ण दिनमा कुनैपनि हालतमा बत्ती नजाने व्यवस्था गर्न प्राधिकरणले सबै तयारी पूरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्