यो वर्ष चाँडै जाडो बढ्ने, जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियस

काठमाडौँ, २१ कात्तिक । यसपटक छिट्टै जाडो सुरु भएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले अघिल्ला वर्षहरुमा मंसिरदेखि मात्र चिसो बढ्ने गरे पनि यसपालि एक महिना अघि नै देशभर चिसो बढेको जनाएको छ । अहिले हिमाली जिल्लामा हिमपात हुन थालिसकेको छ ।
यसले गर्दा बिहान र बेलुकी चिसो हावासमेत चल्न थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियस छ । यो यो वर्षकै कम तापक्रम हो ।
यस्तै तिहारको तीन दिन देशभरको मौसम घमाइलो हुने मौसमविद्ले अनुमान गरेका छन् । आज, भोलि र पर्सी देशभरकै मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
तर तीन दिनपछि भने पूर्वी पहाडी क्षेत्रका मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्