कठमाडौं , २१ कात्तिक । काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।
कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ ।
त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ।
आवश्यक कागजात पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले प्रस्ट पारेको छ । नियुक्तिका क्रममा कामदारबाट शुल्क असुल्ने परिपाटी रोक्न यो कदम चालेको कतार सरकारको भनाइ छ ।
आप्रवासी कामदारसँग नियुक्तिका सिलसिलामा कुनै शुल्क लिन नहुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको नियममा आफ्नो मुलुक प्रतिबद्ध रहेको कतारको भनाइ छ ।
कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहे पनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुलिरहेको र त्यसलाई रोक्न भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले मंगलबार सञ्चारकर्मीसँग बताए । ‘भिसा सेन्टर खुलेपछि कामदारलाई निकै सजिलो हुन्छ,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्