किलोका किलो नक्कली सुनको कारोबार

काठमाडौं, कात्तिक २१ । टेकुबाट सोमबार बिहान निस्केको एउटा गाडीमा चालकसहित पाँचजना सवार थिए । उनीहरु ३५ लाखमा एक केजी सुन किन्न निस्केका थिए ।
सुन बेच्नेले उनीहरुलाई सुरुमा कोटेश्वर बोलायो, फेरि सात दोबाटो । सुरक्षाका कारण भन्दै बारम्बार स्थान बदलिरह्यो । थिमि, सुर्यविनायक हुँदै अन्तिममा झण्डै ३ बजेतिर ताथलीमा दुई टोलीको भेट भयो ।
भेट्नासाथ सुन किन्न आएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्यो । ग्राहकको भेषमा पुगेकाहरु खासमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी थिए– एक डिएसपी, दुई सई, एक जवान र एक चालक ।
प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । एकजना भने भागेका छन् ।
महाशाखाले ललितपुर, सातदोबाटोका राजेन्द्र तामाङ, ढोलाहिटीका राजकुमार तामाङ र मातातीर्थका राजु लामालाई पक्राउ गरेको छ । यो गिरोहले संगठित रुपमै नक्कली सुनको कारोबार गर्दै आएको खुलेको छ ।
दुबई मेड लेखिएको एक केजी सक्कली सुनको औसत बजार मूल्य ४५ देखि ५० लाख पर्छ । उक्त गिरोहले दुबई मेड नै लेखिएको छाप हानेर नक्कली सुन बेच्दै आएको छ । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्