काठमाडौं, २० कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ ।
लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको संस्थानका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए। उनका अनुसार गत शनिबारदेखि नै उक्त दरमा चिनीको बिक्रीवितरण गरिएको छ। हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ।
‘चाडबाडलाई लक्षित गरेर सहुलियत दरमा चिनी बिक्री गर्ने निर्णयमा संस्थान पुगेको हो,’ उनले भने। यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो। तर, उक्त मूल्य प्रचलित बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री नै रोकेको थियो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने चेतावनी दिएपछि संस्थानले बिक्री रोकेको थियो। त्यसयता गत साता मन्त्रालयमा बसेको संस्थानसहितको बैठकले चिनीको मूल्य निर्धारण गरेको थियो। सोहीअनुसार चिनी बिक्रीवितरण गरिएको संस्थान बताउँछ। संस्थानको मूल्यकै हाराहारीमा चिनीको बजार मूल्य कायम हुँदै आएको छ। हाल संस्थानसँग १७ हजार मेट्रिक टन चिनी मौज्दात छ।
प्रतिक्रिया दिनुहोस्