काठमाडौं, कात्तिक १९ । आउँदो तिहारका लागि लगभग ३ करोड रुपैयाँको फूल आयात गरिएको छ। फ्लोरीकल्चर एसोसियशन (फ्यान) का अध्यक्ष कुमार कसजु श्रेष्ठले यसपालीको तिहारका लागि ३ करोडको फूल आयात भएको र यो रकम पोहर तिहारमा भित्र्याइएको भन्दा दुई करोड कम हो भनेका छन्।
गएको आर्थिक बर्षको पहिलो चौमासिकमा ५ करोडको फूल आयात भएकोमा यस बर्षको चौमासिकमा घटेर ३ करोडको आयात भएको उनको भनाइ छ। गत आर्थिका वर्षमा भने नेपालले ११ करोडको फूल आयात गरेको थियो। पोहर तिहारमा झण्डै तीन लाख सयपत्रीको माला भारतबाट आयात भएको थियो। नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसके पनि भारतबाट आयात गर्नुपर्ने अबस्थान नटरेको, अध्यक्ष कसजुको भनाइ छ।
नेपालमा करीब ७ सय व्यक्ति र संस्थाले फूल व्यवसाय गरेको रेकर्ड फ्यानसँग छ। करीब ३ हजार रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको श्रेष्ठको दाबी छ। उनका अनुसार आर्थिक वर्ष २०७४-०७५ सम्म आइपुग्दा फूल व्यवसाय ४३ जिल्लामा विस्तार भएको छ। विसं २०११ देखि नेपाल नीजि नर्सरीको स्थापनासँगै ब्यवसायिक पुष्प खेती शुरु भएको हो।
प्रतिक्रिया दिनुहोस्