मोदी पुनः नेपाल आउँदै, नेपाललाई भारतीय कांग्रेसले सोध्यो – मोदीलाई मात्रै महत्व ?

काठमाडौं , कात्तिक १९ । भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल आउन लागेका छन् ।
उनी जनकपुरमा विवाह पञ्चमीमा सहभागी हुन मंसिर २६ मा आउने तयारी छ ।
उनले त्यही समयमा भारतले बनाएको एकीकृत भन्सारजाँच चौकी र नयाँ बनेको जनकपुर–जयनगर रेलको पनि उद्घाटन गर्नेछन् ।
प्रधानमन्त्री केपी ओली र उनले संयुक्त उद्घाटन गर्ने तयारी रहेको एक अधिकारीले बताए ।
‘कुनै समस्या देखिएन भने विवाह पञ्चमीमा जनकपुर आउने प्रायः निश्चित छ’, ती परराष्ट्र अधिकारीले भने ।
औपचारिक पत्राचार भइनसके पनि छलफल अघि बढेको उनले बताए । कार्यवाहक राजदूत रेग्मीले भने मोदी भ्रमणबारे स्पष्ट हुन चाहेनन् ।
उनले भने, ‘काठमाडौंमा केही भएको भए जानकारी भएन । हामीलाई त्यस्तो निर्देशन छैन ।
नेपाललाई भारतीय कांग्रेसले सोध्यो ( मोदीलाई मात्रै महत्व ?
भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महत्व नदिन नेपाललाई आग्रह गरेको छ ।
प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा उपयोग गरेकोमा आलोचना गर्दै उसले नेपाल सरकारलाई सचेत रहन भनेको हो ।
कुटनीतिक उच्चस्रोतका अनुसार कांग्रेस आईले भारतीय जनता पार्टी (बीजेपी)लाई नै तोकेर नेपाललाई छुट्टै आग्रह गरेको छ ।
आगामी निर्वाचनमा कांग्रेस आईले वर्तमान सरकारको छिमेक नीतिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै छ । यसै सन्दर्भमा उसले नेपालसँग पनि मोदीको विदेश–नीतिको विषय उठाएको हो ।
नेपाल सिंगो भारतसँगको कूटनीतिक सम्बन्धमा यसअघि नचुकेको समेत भारतीय कांग्रेसको धारणा छ ।
उसले छिमेक यस्तोमा उपयोग हुन नहुने भन्दै सचेत रहन औपचारिक÷अनौपचारिक आग्रह गरेको हो । कांग्रेस आईले कूटनीतिक च्यानलमार्फत समेत यस्तो सन्देश प्रवाह गरेको दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्