स्पेनिस लिग फुटबल: रियलको लगातार दोस्रो जित, बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं, कात्तिक १८ । स्पेनिस लिग फुटबलमा शीर्ष क्लवबहरु बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् ।
लगातार खराब प्रदर्शनपछि नियमित प्रशिक्षक जुलेन लोपेतेगुईलाई बर्खास्त गरेको रियल मड्रिडको यो लगातार दोस्रो जित हो । मड्रिडले गएराति रियाल भालाडोलिडलाई २–० ले हरायो । उसका लागि सर्जियो रामोसले एक गोल गर्दा भालाडोलिडका किको ओलिभासले एक आत्माघाती गोल गरेका थिए ।
जितसँगै रियल मड्रिड अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्यमा २ खेलबाट ६ अंक जोड्दै लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । ११ खेलबाट उसको १७ अंक भएको छ ।
समान खेलबाट २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । गएरातिको खेलमा बार्साले रायो भाएकानोलाई ३–२ ले हरायो । बार्साको जितमा लुईस सुवारेजले दुई गोल गर्दा ओसमान डेम्बेलेले अर्को एक गोल थपे ।
ला लिगाकै अन्य खेलहरुमा जिरोनाले भ्यालेन्सियालाई १–० ले हराँउदा लेगानेजले एथ्लेटिको मड्रिडलाई १–१ गोलको बराबरीमा रोक्यो ।
प्रतिक्रिया दिनुहोस्