आयो कालिञ्चोक केबुलकार सञ्चालनमा, ५ सयमा चढ्न पाइने

काठमाडौं,कात्तिक १८  । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित निर्माणाधीन कालिञ्चोक केबुलकार आजदेखि  व्यवसायिक रुपमा सञ्चालनमा आएको छ।
केबलकार सञ्चालनमा आएपछि कालिञ्चोक हुँदै आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज हुनेछ। कालिन्चोक केबलकारका ४ वटा डब्बा छन् भने एउटा डब्बामा एक पटकमा १० जनाले यात्रा गर्न सक्छन्।
कालिञ्चोक दर्शन लिमिटेडले साढे २ वर्षअघि निर्माण सुरु गरेको कालिञ्चोक केबुलकार करीब ४५ करोड लागतमा निर्माण भएको कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले  जानकारी दिए।
कालिन्चोक केबुलकार निर्माणको काम अहिलेसम्म ९७ प्रतिशत सम्पन भइसकेको छ। अहिले केबलकारको सफ्टवेयर मिलाउने काम भइरहेको छ। अधिकृत शिवाकोटीका अनुसार केबुलकार सञ्चालनमा आएपछि सर्वसाधारण नागरिकले ५ सय शुल्क तिरेर चढ्न पाउने छन्। कालिञ्चोक क्षेत्रका बासिन्दालाई भने केही छुट हुने उनले बताए।
स्वीस टेक्नोलोजीबाट निर्माण भएको केबुलकार देशका अन्य स्थान मनकामना र चन्द्रागिरीको भन्दा फरक प्रविधिको रहेको कम्पनीले जानकारी दिएको छ। डबल सिस्टमको भएकाले २ डब्बा रोकेर २ वटा मात्रै चलाउन मिल्ने कम्पनीले जनाएको छ।
केबुलकार निर्माण गर्दा पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोकमा सुन्दरतामाथि क्षति पुगेको र संरक्षणमा ध्यान नदिएको भन्दै स्थानीयले आलोचना गर्दै आएका बेला कालिञ्चोक केबलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले भने कालिञ्चोकको सौन्दर्यतामा केही ह्रास नआएको दाबी गरेका छ्न्।
कालिञ्चोकको सौन्दर्यतालाई बिगार्दा केवलकार पनि व्यवसायिक रुपमा सञ्चालन हुन नसक्ने भएकाले यसको संरक्षण जरुरी भएकाे र आफूहरुले यसमा ध‍्यान दिएको उनको तर्क छ।
प्रतिक्रिया दिनुहोस्