मेलम्ची खानेपानी : सुन्दरीजलबाट चाबहिलसम्मको पाइप परिक्षण सफल
काठमाडौं , कात्तिक १७ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सम्पन्न भएको छ ।
चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनःपरीक्षण गर्दा समेत काम नगरेपछि एक महीनादेखि काम भइरहेको छ ।
पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको जनाइएको छ ।
चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले राससलाई जानकारी दिए । महाङ्काल, चुच्चेपाटी र सुकेधाराका चुहावट यसअघि नै बन्द भइसकेको छ । वर्षाद्मा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा हाली परीक्षण गरिएको हो ।
वर्षाद्मा बढी भएको दैनिक तीन करोड लिटर पानी मेलम्चीको वितरण सञ्जालमा हाली परीक्षण गरिएकोमा हिउँद लागेसँगै ३० प्रतिशतले कमी आएकाले बाँकी परीक्षण गर्न मेलम्चीकै पानी कुर्नुपर्ने उनले बताए । मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि महाङ्कालचौर ल्याई पुरानो सञ्जालबाट वितरण र नयाँ सञ्जालबाट परीक्षण गरिने निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्