मलेसियापछी श्रममन्त्री विष्टको ध्यान अब कतारमा !

काठमाडौं , कात्तिक १७ ।  मलेसियासँगको श्रम समझदारीपछि श्रममन्त्री गोकर्ण बिष्टले कतारसँगको श्रम सम्झौता पुनरावलोकनलाई प्राथमिकतामा राखेका छन् । मलेसियामा जस्तै अब कतारमा पनि शून्य लागतमा कामदार पठाउने मन्त्री बिष्टको रणनीति छ ।
कतारसँग भएको श्रम सम्झौता श्रमिकमैत्री नभएको निश्कर्ष निकाल्दै सरकारले श्रम सम्झौता पुनरावलोकनका लागि कतारसँग छलफल बाक्लो बनाउन लागेको छ । यसका लागि आगामी साता कतारको श्रम ममिला हेर्ने मन्त्रालयका केही उच्च अधिकारी नेपाल आउने तय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
कतारका मन्त्री नेपाल आएलगत्तै यही नोभेम्बर महिनामै नेपाली टोली कतार जाँदैछ ।
यी दुई सरकारी भ्रमण र वार्तामा श्रम सम्झौतालाई समायानुकल परिमार्जन गर्न आ–आफ्ना एजेण्डाहरु राख्ने र घनिभूत रुपमा छलफल गर्ने योजना रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
कतारसँग सन् २००५ मा नेपालले श्रम सम्झौता गरेको थियो । तर, सम्झौताले नेपाली कामदारको हितमा धेरै कुरा समेट्न सकेको छैन । यसमा कतार जाँदा कामदारले भिसा शुल्क र हवाई टिकटको शुल्क रोजगारदाताले बेहोर्ने व्यवस्था छैन ।
कामदारलाई अप्ठेरो अवस्थामा रोजगारदाता परिवर्तनको अधिकार दिइएको छैन । कामदारले आफ्नो पासपोर्ट रोजगारदातालाई बुझाएर बन्धक जस्तैगरी बाँच्नुपर्छ । कतारसँगको सम्झौताले महिला कामदारको अधिकार सुंरक्षाबारे सम्बोधन गरेको छैन ।
कामदारका हितबारे सम्झौताहरु अपुरो र अधुरो रहेकाले सरकारले अब क्रमसँग सम्झौता र समझदारीहरु पुनरावलोकन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्