मनाङको ‘फु’ गाउँमा मोवाइल सेवा सञ्चालन, सूचना र प्रविधिको प्रयोगमा अब भने सहज

काठमाडौं , कार्तिक १६  । मनाङको विकट ‘फु’ गाउँमा गएको सोमबारदेखि ‘जीएसएम मोवाइल सेवा’ सञ्चालनमा आएको छ । सेवाको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गरेका हुन्।
विकट गाउँमा मोवाइल सेवा पुर्याउनु आवश्यक रहेको उनले बताए । टेलिफोन तथा मोवाइल सेवा नपुग्दा अझै पनि विकटका नागरिक प्रविधिबाट वञ्चित हुनुपरेको छ ।
फु गाउँमा मोवाइल टावर सञ्चालनमा आएसँगै स्थानीयमा खुशी छाएको छ । अब यहाँका स्थानीयले सूचना र प्रविधिको प्रयोग गर्न पाउने छन् ।
नेपाल टेलिकम मनाङका अनुसार समुद्री सतहदेखि ४ हजार दुई सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोबाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमालको बेस क्याम्पसम्म काम गर्नेछ ।
टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाले भन्नुभयो ‘टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्मका साथै माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ, ।
उहाँका अनुसार नारपाभूमी गाउँपालिका ४ र ५ ‘फु’ गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको छ । रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि ‘फु’ गाउँमा ‘स्याटलाईट लिङ्क’ प्रयोग गरिएको छ ।
स्थानीयका अनुसार ‘फु’ गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । गाउँमा करिब ५५ घरधुरी रहेको छ । नारपाभूमी गाउँपालिका पर्यटकीय क्षेत्र समेत रहेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिए ।
‘गाउँ विकट छ । यो गाउँ पर्यटकीय गाउँ पनि हो । गाउँमा मोवाइल सेवा, इन्टरनेट नहुँदा स्थानीयका साथै पर्यटकलेसमेत सास्ती खेप्दै आएका थिए । अब मोवाइल सेवा सुरु भएको छ । यसले पक्कै सूचना र प्रविधिको प्रयोगमा सजिलो बनाउनेछ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्