नेपाल सेमिफाइनलबाटै बाहिरियो, पाकिस्तानसित ४–० ले पराजित

काठमाडौं, कात्तिक १५ । आयोजक नेपाल १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।
साविक उपविजेता नेपाल बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पाकिस्तानसित ४–० को फराकिलो अन्तरले पराजित भयो ।
नेपालले मध्यान्तरसम्मको खेल गोलरहित बराबरी खेले पनि मध्यान्तरपछि लगातार ४ गोल खायो ।
जान लिम्बूले आत्मघाती गोल गरेपछि ५४औं मिनेटमा पछि परेको नेपालले ५९औं मिनेटमा जानले ‘फल’ गरेपछि पाकिस्तानले पाएको पेनाल्टीमा नेपालले अर्को गोल खाएको थियो ।
नेपालले ६९औं मिनेटमा पनि पेनाल्टीमार्फत् नै गोल खाएको थियो ।
७८औं मिनेटमा थप एक गोल खाएको नेपाल मध्यान्तरपछि कमजोर रणनीति बनाउँदा पराजित भएको हो ।
अब पाकिस्तानले उपाधिका लागि शनिबार बंगलादेशसित खेल्नेछ ।
बिहीबारै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेको थियो ।
नेपालले शनिबारै तेस्रो स्थानका लागि भारतसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्