प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएता पनि केहि दिन अस्पताल नै रहने
काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपनि केहि दिन अस्पताल नै रहने भएका छन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आज पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएपनि डिस्चार्ज गर्न नसकिने स्पष्ट पारे पछि प्रधानमन्त्री ओली केहिदिन अस्तपताल नै रहने भएका हुन् ।
प्रधानमन्त्रीको पछिल्लो रगत परीक्षण तथा छातीको एक्सरे रिपोर्ट सामान्य रहेको र स्वास्थ्य स्थितिमा उलेख्य सुधार आएता पनि प्रधानमन्त्रीलाई दिइएको औषधिको मात्रा नपुगेकोले अझै केहि दिन अस्पतालमा नै रहनुपर्ने उपचारमा संलग्न डा. दिव्या सिंहले बताइन् ।
अहिले नै काममा फर्कनेगरी स्वास्थ्य अवस्था तयार नभएको र केहि औषधि नियमित सेवन गर्नुपर्ने तथा अस्पतालमा आराम समेत मिल्ने भएकोले प्रधानमन्त्री केहिदिन अस्पतालमा नै पर्र्ने उनले जानकारी दिइन् ।
प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य रहेका छन् ।
बुधबारबाट प्रधानमन्त्री ओलीको छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रण भएको उपचारमा संलग्न प्राडा.अरुण सायमीले जानकारी दिए । साथै प्रधानमन्त्रीले उपचार कक्षमा सामान्य हिँडडुल र खाना आफैले खान थालेको पनि डा. सायमीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्