डिआइजी भण्डारीको मृत्य भएको दुर्घटनाका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ, १५ कात्तिक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीनजनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वमा प्रहरी निरीक्षक दीपक राय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक निशेष चापागार्इं तथा अन्य दुईजना सहायक प्रहरी अधिकृत सदस्य रहेको घटना छानबिन समिति बनाइएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनका अनुसार घटनामा सामान्य घाइते भएका गाडीधनी एवं चालक प्रदीप बोगटीलाई कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
शनिबार दिउँसो २ बजे ६ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते प्रहरी नायब उपरीक्षक भण्डारी उपचारार्थ अस्पताल लैजाँदै गर्दा र पत्रकार २४ वर्षीय जीवन पराजुली तथा टे«ड यूनियन काङग्रेस ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमानै मृत्यु भएको थियो ।
घटनामा गम्भीर घाइते पूर्वप्रहरी नायब उपरीक्षक विनोद गौतमको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते बोगटी र अर्का धनराज पुरी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । मृतक एवं घाइते पुरीको मण्डन देउपुर नपा–५ बाउनेडिहीस्थित जमीनमा बालुवा खानी चलाउन निरीक्षण गरेर फर्कँदा दुर्घटना भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्