१६ लाख भन्दा बढीको रिचार्ज कार्ड चोरी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, १५ कात्तिक ।१६ लाख भन्दा बढीको एनटिसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले रिचार्ज कार्ड चोरी गरेर बिक्री गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको हो । असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेको उजुरी प्रहरीमा परेको थियो ।
प्रहरीले उजुरी परेको २१ दिनपछि १६ लाख १० हजार रुपैयाँ बराबरको रिचार्ज कार्डसहित रोल्पा माडी गाउँपालिका–१ का २१ वर्षे दलबहादुर पुनलाई पक्राउ गरेको हो ।
पुनले ससुराली प्युठान स्वर्गद्वारी नगरपालिका–७ मा लुकाइ राखेको अवस्थामा रिचार्ड कार्ड बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति माथि थप अनुसन्धान भैरहेको र चोरी मुद्दा दर्ता गरेर कारबाही अघि बढ्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्