भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते, दुई जनाको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं रिफर

काठमाडौं, १४ कार्तिक । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडी केदारटोलमा भुस्याहा कुकुरको टोकाइबाट चार जना घाइते भएका छन्।
स्थानीयका अनुसार केदार टोलमा मंगलबार र बुधबार गरी चार जना कुकुरको टोकाइमा परेका हुन्। वडा नम्बर ३ का कार्यवाहक वडाध्यक्ष ओम चन्दका अनुसार चारमध्ये दुई जनाको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको छ।
एक जनालाई भारतको लखनउ लगिएकोे छ भने अर्का एककोे अवस्था सामान्य रहेको छ। भुस्याहा कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी ११ वर्षीया हिमान्सु वडू र २८ वर्षीय लोकेन्द्र भण्डारीलाई उपचारका लागि काडमाडौं पठाइएको छ।
घाइते दुवै जनाको गालाको चोक्टा निस्किएको छ। कुकुरको टाेकाइबाट घाइते भएकी ४४ वर्षीया राजेश्वरी खनालको अवस्था सामान्य रहेको छ।
एकै टोलमा चारवटा भुस्याहा कुकुरले सर्वसाधारणलाई टोकेर आतंक मच्चाएपछि तीन कुकुरलाई मासुमा विष राखेर मारिएको छ भने एक कुकुर अझै फेला पर्न नसकेको कार्यवाहक वडाध्यक्ष चन्दले बताए।
प्रतिक्रिया दिनुहोस्