कतारको राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको राष्ट्रपति भण्डारीद्वारा अवलोकन
काठमाडौं, १४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले कतारको चार दिने औपचारिक भ्रमणको तेस्रो दिन आज दोहास्थित राष्ट्रिय पुस्तकालय र सङ्ग्रहालयको अवलोकन गरेकी छन् ।
अत्याधुनिक र अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएको भव्य पुस्तकालयमा अरबी, अङ्ग्रेजी लगायत विभिन्न भाषाका १० लाख भन्दा बढी पुस्तकहरू रहेका छन् ।
विद्युतीय पुस्तकालय र बालबालिकालाई क्रीडास्थल सहितको आकर्षक सुविधा यस पुस्तकालयको प्रमुख विशेषता रहेको पुस्तकालयका कर्मचारीले जानकारी दिएका छन् ।
पुस्तकालयको अवलोकनपछि राष्ट्रपति भण्डारीले यति विशाल र आधुनिक पुस्तकालयमा एउटा पनि नेपाली भाषाको पुस्तक नहुनु दुःखको कुरा भएको बताएकी छन् ।
उनले ४ लाख भन्दा बढी नेपाली कामदार रहेको देशको प्रमुख पुस्तकालयमा नेपाली भाषाका पुस्तकहरू उपलब्ध गराउन सरकार र दूतावासको ध्यानाकर्षण समेत गराएकी छन् ।
प्रतिक्रिया दिनुहोस्