काठमाडौं, १४ कात्तिक । चितवनको भरतपुरस्थित वीपी कोइराला क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका छन् ।
चितवनिस्थित विशेष अदालतले डा. श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी किटान गरेको हो । साथै अदालतले डा. श्रेष्ठमाथि १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७७६ रुपैयाँ जरिवाना समेत तोेकेको छ ।
मंगलबार चितवन विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधशीशद्दय प्रमोदकुमार श्रेष्ठ वैद्य र रत्नबहादुर बागचन्दको संयुक्त इजलास डा.श्रेष्ठमाथि सो फैसला गरेको छ । डा. श्रेष्ठ र उनकी श्रीमतीविरुद्ध अख्तियार दुरुपयोय अनुसन्धान आयोगले २०७२ फागुन २ गते १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा हालेको थियो ।
डा.श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठले भने सफाई पाएकी छन् । अदालतले डा. श्रेष्ठको सम्पति ४८ लाख ९० हजार ३३७ रुपैयाँ मात्र बैध भएको दाबी गरेको छ । त्यो भन्दा बाहेक सम्पतिलाई अवैध ठहर गर्दै त्यो बराबरको सम्पति जफत हुने फैसला समेत गरेको छ । डा. श्रेष्ठ २०६४ भदौदेखि २०६७ सालसम्म क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्