काँग्रेस महासमिति बैठकको तयारी तिब्र , ५ वटा उपसमिति गठन

काठमाडौं, कात्तिक १३ । नेपाली काँग्रेसले आगामी मंसिर ५ गते बाट हुने महासमिति बैठकको तयारी थालेको छ ।
जसका लागि काँग्रेसले विभिन्न उपसमतिहरु गठन गरेर तयारी सुरु गरेको हो । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिको बैठकले सोमबार मात्रै ५ वटा उपसमिति गठन गरेर कामको बाँडफाड गरेको जनाएको छ ।

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काँग्रेस काठमाडौँ जिल्लाका सभापति सवुज बाँनियाको अध्यक्षतामा काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले ५ भोजन व्यवस्थापन, मञ्च तथा प्चार प्रसार, स्वयंसेवक व्यवस्थापन, स्थानीय व्यवस्थापन सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको हो ।
जसअनुसार भोजन व्यवस्थापन उपसमितिको संयोजकमा काँग्रेस भक्तपुरका सचिव तोकिएका छन् भने सो समितिको सहसंयोजकमा नेपाली काँग्रेस, ललितपुरका सचिव भीमसेन घिमिरे छन् ।

त्यसैगरी मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा गोविन्द पुडासैनी, कोषाध्यक्ष, नेपाली काँग्रेस (काठमाडौ) छन् भने सह संयोजकमा कर्मा व्यजनकार, कोषाध्यक्ष काँग्रेस (ललितपुर) र विजेश अवाल, कोषाध्यक्ष, काँग्रेस (भक्तपुर) छन् ।
स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा भीमसेन घिमिरे, सचिव काँग्रेस ललितपुर र सह संयोजकमा किरण न्यौपाने, सहसचिव, कांग्रेस (भक्तपुर) रहेका छन् ।
स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको संयोजकमा निशान ढुंगेल, सचिव, कांग्रेस भक्तपुर छन् भने आर्थिक व्यवस्थापन गर्न नेपाली कांग्रेस काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुलाई जिम्मा दिने निर्णय भएको छ ।
काँग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुदैछ ।
नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गत शनिवार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले महासमिति बैठक काठमाडौमा गर्ने निर्णय गरेको हो ।
बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि निर्देशन दिएका थिए ।
सोही बैठकले कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्