प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, सभापति देउवाले अस्पताल पुगेर गरे स्वास्थ्य लाभको कामना
काठमाडौं, १२ कार्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओली सोमबार विहान साढे ४ बजे अस्पताल भर्ना भएका थिए । उनको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ । ‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थीर रहेको जानकारी गराइन्छ’ अस्पतालका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केही दिन अस्पतालमै रहनेछन् । उनको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्या सिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न रहेका छन् ।
त्यस्तै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सोमबार अपरान्ह शिक्षण अस्पताल पुगेका सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । सामेबार नै नेताहरु जनार्दन शर्मा, मन्त्री गोकर्ण विष्ट लगायतले पनि प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए । पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरूले विहानै प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको अस्पतालले जनाएको छ । ज्वरो नियन्त्रणमा आएको अस्पतालले जानकारी दिएको छ
प्रतिक्रिया दिनुहोस्