प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, सिसियुमा उपचार हुँदै
काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली, आइसियु हैन सिसियुमा उपचार हुँदै
उनको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र एनेस्थेसियाका डा. सुवास आचार्य छन्।
निजी चिकित्सक डा. दिव्या हिजोसम्म विदेशमा रहे पनि आज स्वदेश फर्केर उपचारमा संलग्न भइसकेकी छिन्।
केही मिडियामा प्रधानमन्त्रीलाई आइसियुमा राखी उपचार गरिएको भनिए पनि सिसियुमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
आइसियु इन्टेन्सिभ केयर युनिटको संक्षिप्त रुप हो। एकदमै गम्भीर बिरामीलाई आइसियुमा राखिन्छ। सिसियु कोरोनरी केयर युनिटको संक्षिप्त रुप हो। सिसियुमा कार्डियोभस्कुलर अर्थात् मुटुसँग सम्बन्धित बिरामीलाई राखिन्छ।
अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई र्पुयाइएको हो। शिक्षण अस्पतालमै मनमोहन कार्डियोभास्कुलर सेन्टरमा प्रधानमन्त्रीलाई राखिएको छ।
चिकित्सकको निगरानीमा रहेका ओलीलाई निमोनियाको संक्रमण भएपछि बालुवाटारमा उपचार सम्भव नभएको हो। अहिले अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
शुक्रबार अपराह्न पनि प्रधानमन्त्री ओलीलाई शिक्षण अस्पताल लगिएको थियो। तर निवासमै आराम गरी उपचार गर्न फर्काइएको थियो।
भारतको अपोलो अस्पतालमा ११ वर्ष पहिले मिर्गौला प्रत्यारोपण गराएपछि प्रधानमन्त्री ओलीले निरन्तर औषधि सेवन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्