काठमाडौं, ११ कात्तिक । सोमबार देखि कतारमा कार्यरत श्रमिकहरुलाई ‘एक्जिट परमिट’ नचाहिने भएको छ । कतारबाट बाहिरिँदा ‘एक्जिट परमिट’ नचाहिने यो नियम भने सबैमा लागु नहुने मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधि रमजान अलिमियाले जानकारी दिए ।
अलिमियाका अनुसार गहना पसल, बैंकका कर्मचारी लगायत कामको प्रकृति हेरेर पूरा कामदार मध्येको ५ प्रतिशतलाई अनुमतिबिना देश छोड्न नदिने अधिकार भने अझै पनि कम्पनी सँग सुरक्षित रहनेछ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानीले गत महिना आप्रवासी कामदारको प्रवेश, गमन तथा आवास प्रावधान २०१५ को श्रम कानून नम्बर २१ केही परिमार्जित गर्दै २०१८ को कानून नम्बर १३ जारी गरेका हुन् जुन भोलिबाट कार्यन्वयन हुँदैछ।
अब जारी नयाँ कानून अनुसार कामदारलाई देश छोड्न नदिने कम्पनी वा मालिकले कामदारको नाम, कामको अवस्था तथा स्पष्टिकरण सहित प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयबाट स्वीकृति लिनु पर्नेछ। यसरी स्विकृति लिएर पनि ५ प्रतिशत भन्दा बढि कामदार रोक्न पाउने छैनन्।
कतारबाट बाहिर जान चाँहे अथवा कतार छोड्न कम्पनीले रोके वा कुनै पनि कारणले देश छोड्न नपाउने कामदारले गमन पत्र उजुरी केन्द्रमा निवेदन दिन सकिने छ ।
आन्तरिक मन्त्रालय र श्रम मन्त्रालय बीचको समन्वयमा नियम कार्यान्वयनमा ल्याउन समिति गठन भएको थियो। कानून अनुसार आप्रवासी कामदारले आफ्नो करार अवधिभर बिदामा वा कुनैपनि बेला कम्पनी वा मालिकको अनुमति बिना नै देश छोड्न पाउनेछन्।
तर यो नियम घरेलु कामदारलाई भने लागु नहुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्