प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने विश्वकप क्रिकेटको ट्रफी कार्यक्रम रद्द

काठमाडौं, कात्तिक ११ । विश्वभ्रमणका क्रममा नेपाल ल्याइएको आईसीसी विश्वकप क्रिकेटको ट्रफी प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने कार्यक्रम रद्द भएको छ ।
उनी अस्वस्थ भएकाले कार्यक्रम रद्द गरिएको हो । आइतबार केहीबेरका लागि चन्द्रागिरीमा लगिएको ट्रफी सोमबार एक बजेदेखि सर्वसाधारणका लागि काठमाडौंको बसन्तपुरमा प्रदर्शनीमा राखिने कार्यक्रम छ ।
चन्द्रगिरिमा नेपालका पूर्व कप्तानहरु उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् । शुक्रबार काठमाडौं ल्याइएको ट्रफि शनिबार पोखरा लगेर फेरि काठमाडौंमै फिर्ता ल्याइएको थियो ।
सन् २०१९ मा हुने विश्वकप क्रिकेट अघि विभिन्न देशमा ट्रफीलाई टूर गराउने अभियान अन्तर्गत आईसीसीको ट्रफी नेपाल ल्याएको हो ।
विश्वकप ट्रफी टूर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइण्डिज, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश हुँदै नेपाल ल्याइएको थियो । अब ट्रफी नेपालबाट भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इङ्ग्ल्यान्ड लगिनेछ ।
प्रतिक्रिया दिनुहोस्