आजदेखि साझा यातायातको विद्युतीय बस सेवा शुरु

काठमाडौ, कात्तिक ६ । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नभयो । उक्त अवसरमा ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उहाँको जोड छ । त्यस्तै आफ्नो देशमा पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालन गर्न जोड दिन खाँचो छ भने ।

आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उहाँको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना समेत गर्ने र अन्य निकायहरुसंग पनि सहकार्य गर्ने बताए । सरकार सार्वजनिक यातायातको स्तर र गुणस्तरवृद्धि गर्नमा प्रतिवद्ध भएको पनि बताए । विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा हाम्रो जोड छ । यस्तो बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ ।
विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौँ उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा उनको जोड छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा ल्याइएको उक्त बसको व्यवस्थापन तथा संचालन साझा यातायातले गर्ने भएको छ । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गता मैत्रीसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्