कपिलबस्तुमा द्रुत राहदानी सेवा लिनेको संख्या बढ्दै

काठमाडौ, ६ कात्तिक । द्रुत राहदानी सेवा अन्तर्गत राहदानी बनाउनेको सङ्ख्या कपिलबस्तुमा दिनानुदिन बढ्दै गएको छ । राजश्व दस्तुर दोब्बर परे पनि यो सेवा लिनेहरु बढ्दै गएका छन् । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय चार नम्बर र चन्द्रौटाले सो सेवा दिँदै आएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को दुई महीनामा जिल्ला प्रशासन कार्यालयबाट एक हजार २९६ सिफारिश भएका राहदानीमध्ये ९१५ जनाले बनाएका छन् ।

गत भदौ १५ गतेदेखि राहदानी वितरण गर्ने काम शुरु गरेको इलाका प्रशासन कार्यालय चन्द्रौटाले अहिलेसम्म द्रुत राहदानी १० थान वितरण गरेको छ । पछिल्लो दुई महिनामा मासिक सरदर एक हजार २०० सयभन्दा बढीले राहदानी बनाएका छन् । तीन वटै निकायवाट आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५९६ सिफारिश भएका राहदानी फाराममध्ये ६ हजार १२१ जनालाई राहदानी वितरण गरिएको छ । कपिलवस्तुबाट राहदानी बनाउनेहरु अधिकांश वैदेशिक रोजगारमा जानेहरु भएको र त्यसमा पनि खाडी मुलुक साउदी, कतार जाने भएको जिल्ला प्रशासन कार्यालय तौलिहवाका प्रशासकीय अधिकृत प्रकाश खनालले भने ।
यसपालि नागरिकता बनाउनेको सङ्ख्या ह्वातै बढेको छ । आव २०७५/७६ को दुई महिनामा जिल्ला प्रशासन कार्यालयले चार हजार ३०० नागरिकता वितरण गरेको छ । यसैगरी दुई महीनामा इलाका प्रशासन कार्यालय वाणगङ्गाबाट ६६४ र इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट एक हजार १९९ थान वितरण भएको छ ।

प्रतिक्रिया दिनुहोस्