दैनिक एक लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडौं, असोज २५ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिर जानेको संख्या बढ्न थालेको छ । दैनिक एक लाख जनाभन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
मंगलबार एक लाख १७ हजार सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए। बुधबारदेखि बाहिरिने यात्रुको चाप झन् बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालले बताए । दसैँको बेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेको विगतको तथ्यांक छ ।
धेरैजसो घटस्थापनापछि गृहजिल्ला जाने गर्दछन् । यातायात व्यवसायीका अनुसार हालसम्म करिब एक लाख यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दसैँका गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ ।
प्रतिक्रिया दिनुहोस्