दशैं टिकटमा मनलाग्दीः कोही रित्तो हात, कोहीलाई फालाफाल !

 काठमाडौं, असोज २५  । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो ।
अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ ।
बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो ।
यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोली खटिएको छ । तर सो टोलीले पनि खासै उपलब्धिमूलक काम हुन सकेको छैन । दुःख पाउनेहरुले दुःख पाएकै छन् ।
महानगरीय प्रहरी प्रभाग बसपार्कका प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहनकुमार केसीले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘प्रहरी टोलीले यात्रुहरुका गुनासा सम्वोधन गरिरहेको छ ।
चोरी, पाकेटमार नहोस् भनेर बसपार्क क्षेत्रमा कडा निगरानी गरेका छौं । नागरिक सहायता कक्षमा दैनिक एक हजार जनासम्म आजभोलि आउने गर्नुभएको छ ।’ विगतमा जस्तो यस वर्ष घटनाहरु नघटेको उहाँको भनाइ छ ।
घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प्याक छ भनेर जवाफ पाएँ ।
अब क्याबिनमा मात्रै सिट छ रे रु क्याबिनमा त सात जनासम्म राख्छ । पोहोर पनि दुःख पाएको हुँ क्याबिन भनेर ।’ रोल्पा लिवाङ जाने तयारीमा रहेका पाण्डे पनि केही समय अलमलिए तर, टिकट पाएनन् असोज २९ को ।
अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन ।
त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् ।
दशैं नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको पाइएको छ । टिकट काउन्टरमा बस्दै आएकाले आफन्तीलाई फोनको भरमा टिकट दिने गरेका छन् ।
टिकट काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज रुपमा टिकट पाउन सकेका छैनन् । -नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्