काठमाडौं, असोज २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरी दू्रत टोली परिचालन कार्ययोजना बुधबारबाट लागू गरेको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारबाट लागू हुनेगरी ट्राफिक प्रहरी द्रूत टोली परिचालन कार्य योजना लागू गरिएको घोषणा गरेका हुन् दसैं, तिहारजस्ता चाडपर्वमा ट्राफिकको उचित व्यवस्था गर्न र जनताको जीउधनको सुरक्षा गर्ने कार्यलाई अझै प्रभावकारी बनाउन बुधबारबाट सो कार्ययोजना लागू गरिएको हो ।
चारपाङग्रे सवारी साधनका कारण अपराध नियन्त्रणमा कठिनाई भएपछि मोटरसाईकल परिचालन गरी सो कार्ययोजना संचालनमा ल्याउनुपरेको प्रहरी महानिरीक्षक खनालले जानकारी दिए । एकमहिने सो अभियानमा ५५ वटा मोटरसाईकल परिचालन गरिएको छ । टोलीमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिए ।
टोली काठमाडौं उपत्यका अन्तरगतको काठमाडौं, ललितपुर र भक्तपुरमा परिचालित हुनेछन् । कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक खनालले सो एक महिने कार्ययोजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । एक महिनापछि सो टोलीका लागि थप ४५ वटा मोटरसाईकलको पनि व्यवस्था गर्ने प्रहरी महानिरीक्षक खनालको योजना छ ।
उपत्यकाको नागरिकको सुरक्षा र ट्राफिकको उचित व्यवस्थापनका लागि सो टोली परिचालन गरिएको हो । टोलीले जनताको जीउधनको सुरक्षा गर्नेगरी आवश्यक अभियान पनि संचालन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्