संसदीय समिति अनिश्चितकालसम्म स्थगित, समितिमा विधेयकहरू अलपत्र

काठमाडौं, असोज २४ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिहरूको बैठक एक महिनाभन्दा लामो समयसम्म बस्न नसक्ने अवस्था देखिएको छ । दसैंको बिदा हुन एक साता बाँकी नै रहँदा उपस्थित हुने सांसदको संख्या न्यून देखिएका कारण धेरैजसो समितिले अनिश्चितकालीन रूपमा बैठक स्थगित गरेका छन् ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले समितिको बैठक तिहारपछि बस्ने गरी स्थगित गरिएको बताए । अर्थ समितिका सांसदहरू दसैं र तिहारका बीचमा आफ्ना निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुने भएका छन् । कात्तिक मसान्तभित्र निर्वाचन क्षेत्र विकास कोषका लागि कार्यक्रम टुंगो लगाइसक्नुपर्ने भएकाले पनि सांसदहरू एक महिनासम्म जिल्लामै व्यस्त रहने उनले बताए।
संसद् अधिवेशन नभएको अवस्थामा दसैंतिहार र छठपछि मात्र बैठक बस्दा समितिले सरकारका कामकारबाहीबारे अनुगमन र निर्देशन दिन नसक्ने मात्र नभएर आवश्यक कानुन निर्माणमा पनि असर पुग्ने भएको छ । संसदीय समितिमा विधेयकहरू अलपत्र छन् ।
अर्थ समितिमा चार विधेयक छन् भने राज्यव्यवस्था समितिमा एक विधेयक छ । राज्यव्यवस्था समितिमा अड्किएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म संविधानमा उल्लेख भएको नागरिकताको व्यवस्थाबमोजिम काम हुन सक्दैन । त्यसैले यो विधेयकलाई यथाशीघ्र पारित गर्नुपर्ने अवस्था छ।
संघीय संसद्ले नेपाल प्रहरीको छाता ऐन नबनाउँदा प्रदेशको प्रहरी ऐन बनाउन सकिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्