सान्जेन जलविद्युत: आयोजनाको पावर हाउस निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने

कठमाडौं, असोज २३ ।  रसुवामा निर्माणाधीन माथिल्लो सान्जेन जलविद्युत आयोजनाको पावर हाउसको निर्माण कात्तिक दोस्रो साताबाट सुरु हुने भएको छ ।
सुरुङ निर्माण तथा पेनस्टक निर्माणको काम सकिएकाले पावर हाउसको काम सुरु गर्न लागिएको हो । सुरुङको सर्पोट र ढलान गर्ने कार्य सकिएको आयोजना प्रमुख सुदन सिंह महतले बताए ।
‘आयोजनामा अहिले हाइड्रोमेकानिकलको काम भइरहेको छ, उनले भने, आगामी चैतसम्ममा हेडबक्सको काम सकिन्छ ।’
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पीपीए भएको थियो । १४.८ मेगावट क्षमताको आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।
३ सय ५० मिटर पेनस्टकमा पाइप राख्नुपर्नेमा २३ मिटर पाइप राखिएको छ । २०७६ मंसिरसम्ममा निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना निर्माणका लागि अहिलेसम्म दुई पटकसम्म म्याद थप गरिएको छ ।
दोस्रो पटक थपिएको म्याद अनुसार आगामी माघसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्धा्रित समयमा निर्माण सम्पन्न गर्न नसक्दा दुई पटकसम्म म्याद थप गरिएको थियो । आयोजनाले फेरि पनि म्याद थप गर्नका लागि प्रक्रिया सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्