ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट : आज नेपालले भुटानसँग खेल्दै

काठमाडौं, असोज २३ । मलेसियामा जारी आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनौट अन्तर्गत पूर्वी क्षेत्रको प्रतियोगितामा नेपाल मंगलबार भुटानसँग खेल्दै छ । नेपालले यो खेल जिते एसियाली छनौटमा पुग्न सक्नेछ।
तर, अर्को खेलमा सिंगापुरले थाइल्याण्डलाई हराउनु पर्नेछ। नेपाल तीन खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको सिंगापुरले पनि तीन खेलबाट ६ अंक जोडेको छ।
थाइल्याण्ड चार खेलबाट पाँच अंक जोडेर तेस्रो स्थानमा छ। मंगलबार नै हुने अर्को खेलमा थाइल्याण्डले सिंगापुरसँग खेल्दैछ।
यो खेलमा सिंगापुरले जीत हात पारे नेपाल लिग चरणमा दुई खेल खेल्नुअघि नै एसियाली छनोटमा पुग्ने छ। पूर्वी क्षेत्रको छनोटमा सात टोली सहभागी छन्। यीमध्येबाट लिग चरणका शीर्ष तीन टोली एसियाली छनोटमा पुग्नेछन्।
मलेसियाको चार खेलबाट तीन अंक, म्यानमार र भूटानको खेलबाट समान दुई अंक छ। चीनले अंक जोड्न सकेको छैन।
नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान आठ विकेटले हराएको थियो। तेस्रो खेलमा आइतबार थाइल्याण्डलाई डकवर्थ लुइस नियमका आधारमा एक सय ४० रनले पराजित गरेको थियो।
प्रतियोगिताका तीन खेलमा नेपालका सन्दीप लामिछानेले १४ विकेट लिएका छन्। उनले पछिल्ला दुई खेलमा लगातार पाँच विकेट लिएका छन्।
एसियाली छनौटमा ६ टोली हुनेछन्। एसियाली छनौटबाट शीर्ष दुई टोली विश्वस्तरको छनौटमा पुग्नेछन्। ट्वेन्टी–ट्वेन्टी विश्वकप सन् २०२० मा आयोजना हुँदैछ। नेपालले यसअघि सन् २०१४ को ट्वेन्टी–ट्वेन्टी विश्वकप खेलेको थियो।
प्रतिक्रिया दिनुहोस्