निर्मला हत्या प्रकरण : छानविन समितिको सिफारिसमा थप दुई प्रहरी निलम्बित

काठमाडौं, असोज २२ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै थप दुई प्रहरीलाई निलम्बन गरेको छ ।
प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुको भूमिका छानविन गर्न प्रहरी प्रधान कार्यालयबाट गठित छानविन समितिको सिफारिसमा थप दुई जनालाई निलम्बन गरिएको हो ।
निलम्बित हुनेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत घटनास्थल अनुसन्धान अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् ।
उनीहरुले घटनास्थल अनुसन्धानको क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्बन गरिएको प्रहरी प्रवक्ता क्षेत्रीले जनाएका छन् ।
यसअघि तत्कालिन जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) डिल्लीराज विष्टसहित ६ जनालाई निलम्बन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्