चेल्सीका पूर्व कप्तान जोन टेरीले गरे फुटबलबाट सन्यासको घोषणा

काठमाडौं, असोज २२ ।  इंग्ल्याण्ड तथा चेल्सीका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३७ वर्षका टेरी गएको सिजनको अन्त्यसँगै च्याम्पियनसिप क्लब एस्टनभिल्ला छोडेका थिए ।
त्यसपछि उनी कुनै पनि क्लबमा आबद्ध भएका थिएनन् । डिफेन्डर टेरीले आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत सन्यासको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘फुटबलरका रुपमा बिताएको २३ वर्षपछि यो समय खेलाडीका रुपमा सन्यास लिने सही समय लागेको छ ।’
टेरी इंग्ल्याण्डबाट ७८ खेल खेलेका छन् । उनले दुई दशक बिताएर गएको वर्ष चेल्सी छोडेका थिए । उनले पाँचवटा प्रिमियर लिग उपाधि, पाँचवटा एफए कप उपाधि र एकपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।
चेल्सीबाट सात सय भन्दा बढी खेल खेलेका उनले पाँचपटक लिग कप तथा एकपटक युरोपा लिगको उपाधि पनि जितेका छन् ।
उनको व्यवसायिक खेल जीवनको अन्तिम खेल गएको मे मा भएको फुलह्यामसँगको च्याम्पियनसिप प्ले–अफ फाइनल हो । त्यो खेलमा एस्टन भिल्ला १–० ले पराजित भएको थियो ।
सिजनको अन्त्यसँगै टेरीले एस्टन भिल्ला छोडेका थिए । गएको महिना उनी स्पार्तक मस्को जाने तयारी थियो । तर मस्को आफ्नो परिवारका लागि उपयुक्त नरहेको भन्दै टेरी गएनन् ।
चेल्सीले आफ्ना पूर्व कप्तानको सन्यासको निर्णयको सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्