टी–२० विश्वकप छनोट: नेपालले आज थाईल्याण्डसँग खेल्दै

काठमाडौं, असोज २१ । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप अन्तर्गत एसियाली समूह बी को छनोटमा नेपालले आज थाईल्याण्डसँग खेल्दैछ ।
तीन खेलबाट ५ अंकसहित समूहको शीर्ष स्थानमा रहेको थाईल्याण्ड विरुद्ध नेपालले सहज जित हात पार्ने अपेक्षा गरिएको छ ।
यो खेल जितेको खण्डमा नेपाल तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिनेछ ।
मलेसियामा जारी प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको नेपाल प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ ।
यसअघि हिजो भएको खेलमा नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गर्‍यो ।
मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले खेलमा ४५ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो ।
कप्तान पारस खड्काले ५२ रन बनाएको ईनिङ्समा उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे ।
यसअघि टस जितेर पहिले व्यटिङ गरेको मलेसियाले १९ दशलमव ३ ओभरमा अलआउट हुँदै सय रन मात्रै जोडेको थियो ।
मलेशियाको व्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले ५ विकेट लिए ।
४ ओभर बलिङ गरेका लामिछानेले २० रन दिँदै ५ विकेट लिएका हुन् ।
नेपालले यसपछि मंगलबार भुटानसँग, बुधबार चीन र शुक्रबार सिंगापुरसँग खेल्नेछ। छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन्। एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्। एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखि १५ नोभेम्बरसम्म हुनेछ। जसमा १६ टोलीले खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्