कठमाडौं, असोज २१ । चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ ।
ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्।
विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन्।
चाडबाड नजिकिँदै जा“दा विराटनगरमा बजार मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । यस्तै, लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मूल्य पनि बढेको छ। ‘हरेक वस्तुको मूल्य बढेको छ’, विराटनगर–४ की मन्जु कार्कीले भनिन्, ‘दाल, चामल, तेल, तरकारी सबै चिजको मूल्य अकासिएको छ।’ सीमित आम्दानी भएका सर्वसाधारणलाई चाडबाड मान्न गाह्रो हुन थालेको उनले गुनासो गरिन्। ‘व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाड सेके पनि नियमनकारी निकायले चासो नदेखाउ“दा समस्या भएको छ,’ उनले भनिन्।
राजधानीमा पनि अचाक्ली
चाडबाड नजिकिँदै जाँदा राजधानीमा खाने तेल, मैदा, चिनी, दूध, तरकारीलगायतको मूल्य अचाक्ली बढेको छ ।
सरकारले महँगी रोक्न संयन्त्र बनाएर बजार व्यवस्थित गर्न नसक्दा व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् ।
खाने तेल र मैदामा १५ रुपैयाँसम्म मूल्य बढेको छ । तरकारी पोहोरको तुलनामा एक सय ७१ प्रतिशतसम्म महँगिएको छ ।
इन्धन मूल्यवृद्धिले ढुवानी भाडा बढ्दा उपभोग्य वस्तुमा त्यसको असर परेको छ ।
उपभोक्ता अधिकारकर्मी भने सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगर्दा उपभोक्ता ठगिएको बताउँछन् । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।
प्रतिक्रिया दिनुहोस्