काठमाडौं, असोज २१ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो ।
निगमले शनिबार बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए ।
शनिबार लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उन उल्लेख गरे । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो ।
पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए ।
करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल–दुई ग्राउण्डेड सहित चार वाई–१२, एक एमए–६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङ्कङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ ।
एक बोइङ नाइन एसिबी–५७५, एक वाइड बडी ए ३३०–२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्