पोखरा घुमाउन भन्दै भारतमा बेच्न लगिएका तीन जना नेपाली बालिकाको उद्धार

काठमाडौं, असोज २० । इलामको पशुपतिनगरबाट तीन बालिकाको उद्धार गरिएको छ । सुर्खेत, जाजरकोट र रुकुमका तीन बालिकालाई पशुपतिनगर नाका हुँदै भारततर्फ बेच्न लैजाँदै गर्दा प्रहरीले पशुपतिनगर नाका र दार्जीलिङबाट उद्धार गरेको हो ।
१६ वर्षका दुई र १५ वर्षका एक जना बालिकाको प्रहरीले माइती नेपाल पशुपतिनगरको सहयोगमा उद्धार गरेको बताएको छ । दुई जनालाई इलामको पशुपतिनगरको होटलबाट र एक जनालाई भारतीय प्रहरीको सहयोगमा दार्जीलिङबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
उहाँका अनुसार, मानव बेचबिखनमा संलग्न तीन जना युवालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कालिकोटको सन्नि त्रिवेणी गाउँपालिकाका २२ वर्षीय लङक तिरुवा, २६ वर्षीय लोकेश तिरुवा र २९ वर्षीय जनक तिरुवा रहेका छन् ।
उनीहरुले बालिकालाई पोखरा घुम्न लैजाने प्रलोभन देखाएर भारतमा बेच्न लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन ओसारप्रसार तथा जबरजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।
उद्धार गरिएका दुई जना बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अर्को एक जनालाई भने आफन्त सम्पर्कमा आएपश्चात जिम्मा लगाइने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्