दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार मन्त्रालयलाई निर्देशन

काठमाडौं, असोज १८ । प्रतिनिधिसभाअन्तर्गत्को विकास तथा प्रविधि समितिले नेपाल दूरसन्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तिबारे १५ दिनभित्र विस्तृत् जानकारी गराउन सन्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
सरकारले गत भदौ २१ गते प्राधिकरणको अध्यक्षमा झालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
उक्त नियुक्तिबारे समितिका सदस्यहरुले प्रश्न उठाएपछि यस्तो निर्देशन दिइएको हो ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरु जिपछिरिङ लामा र यज्ञराज सुनुवारले झाको नियुक्ति सम्बन्धमा प्रश्न उठाएका थिए ।
झालाई बर्खास्त गर्ने आफ्नै निर्णय उल्ट्याउँदै सरकारले झालाई भदौ २१ गते पुनः प्राधिकरणको अध्यक्ष बनाएको थियो ।
सन्चार तथा सूचना प्रविधि मन्त्रालयको भावी कार्ययोजनाबारे छलफल गर्न समितिको बैठकमा बोलाइएका सन्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयले गरेका सबै नियुक्तिहरु संविधान र ऐन–कानुनको प्रक्रियाभित्र रहेर गरिएको दाबी गरे ।
उनले यसै वर्षभित्र ७५४ ओटै स्थानीय तहमा इन्टरनेट सुविधा पुर्‍याउनेलगायतका मन्त्रालयको योजना पनि सुनाए ।
प्रतिक्रिया दिनुहोस्