बलात्कारको आरोपमा फेरि तानिए रोनाल्डो, अनुसन्धानको नतिजा पर्खिंदै

काठमाडौं, असोज १८ । क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कारको आरोप लगाएपनि उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।
९ वर्षअघिको घटनाका बारेमा फेरि अनुसन्धान सुरु भएपछि रोनाल्डोले आफूमाथि लागेको आरोप पूर्णतः झुट रहेको उल्लेख गरेका हुन् । ३३ वर्षका रोनाल्डोले आफूमाथि दर्ता भएको वा लगाइएको आरोप दृढतापूर्वक अस्वीकार गर्ने बताएका छन् ।
‘बलात्कार घृणित अपराध हो र यो सबैचिजको विरुद्धमा हुन्छ र म यसको विरुद्धमा छु । मेरो नाममा लागेको आरोपको कुरा गर्दा, स्पष्ट रुपमा यो विषयमा सञ्चारमाध्यमलाई गसिपको खुराक दिन चाहन्न, किनकी आफूलाई प्रमोट गर्न चाहनेले सञ्चारमाध्यमलाई कपोलकल्पित खुराक दिएका छन्’, रोनाल्डोले भने ।
आरोपका बारेमा शान्तीका साथ अहिले भइरहेका सबै अनुसन्धानको नतिजा पर्खिरहेको रोनाल्डोले बताए ।
३४ वर्षकी पूर्व शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले आफूलाई होटलको बाथरुममा बलात्कार गरेको आरोप लगाएकी छन् । अमेरिकामा सन् २००९ मा भएको भनिएको घटना बारे लस भेगास प्रहरीले फेरि अनुसन्धान सुरु गरेको छ ।
आफूले यौन सम्बन्धका लागि धेरै पटक अस्वीकार गरे पनि रोनाल्डोले यौन सम्बन्ध कायम गरेको उनले बताएकी छन् ।
उनले सन् २०१० मा रोनाल्डोसँग तीन लाख ७५ हजार अमेरिकी डलर लिने गरी सहमति गरेकी थिइन् । अहिले आएर उनले फेरि घटनालाई बलात्कारको रुप दिँदै मुद्दा दायर गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्