गृहमन्त्री रामबहादुर थापाले भने- निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण भयो

काठमाडौं, असोज १७ । । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरेको भए पनि घटनालाई राजनीतिकरण गरेर अफवाह फैलाइएको बताए ।
९५ प्रतिशत हिंसाका घटनामा संलग्न अपाराधीहरु कानुनी कठघरामा आएको भन्दै उनले निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही भएरै छाड्ने दावी गरे । ‘निर्मलाजस्ता सयौं बलात्कार भएका छन्,’ उनले भने, ‘अपराधी कसैले पनि उन्मुक्ति पाउँदैन्, बाँकी रहेका २र४ प्रतिशतलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं ।’
घटनालगत्तै उच्चस्तरीय छानविन समिति गठन गरेर घटनाको अनुसन्धान भएको भन्दै गृहमन्त्री थापाले समितिको प्रतिवेदनको निष्कर्षलाई आधार मानेर झन् गहिराइका साथ अनुसन्धान गरिरहेको बताए । छानविन समितिको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने गृहमन्त्री थापाको भनाइ छ ।
घरेलु हिंसा बढ्नुको प्रमुख कारण मदिरा, लागुपदार्थलगायत भएको भन्दै उनले मदिराको नियमन र नियन्त्रण गरिने बताए । उनले मदिरा सेवन र बिक्रीवितरणलाई कडा बनाइने जानकारी दिए ।
आपराधिक क्रियाकलापमा युवाहरु सिकार भएको भन्दै उनले युवालाई अग्रणी भूमिकामा राखेर चेतनामूलक कार्यक्रम गरिने बताए । थापाले देशका ३६ हजार स्कूल क्याम्पस र ७ हजार वडामा घरेलु हिंसाविरुद्धको अभियान चलाइने जानकारी दिए । भ्रष्टाचार, गुण्डागर्दी र अपराध नियन्त्रणमा सरकारले प्राथामिकताका साथ काम गरिरहेको गृहमन्त्री थापाले उल्लेख गरे ।
सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माण सम्बन्धी काममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै उनले चीनसँग पारवहन सम्झौता र भारतसँग जल, रेल र यातायात सम्बन्धी महत्वपूर्ण सम्झौता भएको बताए । सरकारले चन्दा आतंक, अपराध, सिन्डिकेट र भ्रष्टाचार अन्त्य गर्न कडा कदम चालेको थापाले दावी गरे ।
उनले तस्करहरु निस्तेज पारेको र राजश्वमा उल्लेख्य बृद्धि भएको जिकिर गरे । सरकार कडाइका साथ प्रस्तुत भएका कारण गुण्डाहरु भूमिगत भएको उनको भनाइ छ ।
अर्को प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकारका कारण ३३ किलोमात्र नभई ३३ सय बढी किलो सुन तस्कर गर्नेहरुको सञ्जाल ध्वस्त बनेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्