इन्डोनेसियामा भूकम्प : पुरिएको चर्चबाट ३४ विद्यार्थीको शव निकालियो, ५२ जनाको अवस्था अज्ञात

काठमाडौं, असोज १६ ।  इन्डोनेसियामा गएको भूकम्प र त्यसपछिको सुनामीका कारण भएको क्षतिको विवरण आउने क्रम जारी छ । ज्यान गुमाउनेको संख्या अहिलेसम्म कम्तिमा ८४४ जनाको ज्यान गएको पुष्टि भएको छ र संख्या अझै बढ्न नसक्ने उद्धार तथा राहतमा खटिएकाहरुले बताएका छन् ।
पालु आइल्याण्डमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीका कारण बढी क्षति भएको छ । उद्धारकर्मीले पालुको एक चर्चमा ३४ जना विद्यार्थीको शव भेट्टाएका छन् । बाइबल क्याम्पमा रहेका ८६ जना विद्यार्थी मध्ये ३४ जनाको शव चर्चमा पुरिएको अवस्थामा भेट्टिएको हो । अरु ५२ जना विद्यार्थीका बारेमा थाहा हुन सकेको छैन ।
उनीहरु चर्चमा रहेका बेला भूकम्प गएको र त्यसका कारण गएको हिले पहिरोले चर्च पुरिएको थियो। उद्धारकर्मीले पुरिएको चर्चबाट ३४ जना विद्यार्थीको शव निकालेका हुन् । पालुको बाहिरी क्षेत्रमा रहेको चर्चबाट उनीहरुको शव निकालिएको हो । त्यस क्षेत्रमा हिलोको अवस्था निकै गम्भीर रहेको र आफूहरुले खोजी अभियानलाई जारी राखेको उद्धारकर्मीले बताएका छन् ।
अहिलेसम्म आएका तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्रै रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपी, एएफपी र रोयटर्सले जनाएका छन् ।
भूकम्प तथा सुनामीका कारण ज्यान गुमाएकाहरुलाई सामूहिक चिहानमा गाड्न गाडिएका छन् । महामारीजन्य रोग फैलन सक्ने आशंकामा सामूहिक चिहानमा शव गाड्न थालिएको हो ।
अझै पनि धेरै मानिसहरु भत्किएका संरचनामा पुरिएको हुन सक्ने र उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना पनि रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्