चाडपर्वका बेला सुदूरश्चिम प्रदेशका सबै जिल्लामा यात्रु-सहायता कक्ष

काठमाडौं, असोज १६ । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार त्यहाँको कैलाली र कञ्चनपुर तथा सातवटै पहाडी जिल्लाका विभिन्न स्थानमा गरी १२ सहायता कक्ष सञ्चालन गरिएको छ ।
सहज र सुरक्षित यात्राका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी केही दिनयता नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक कार्यालयका निमित्त कार्यालय प्रमुख टेकबहादुर जोराले जानकारी दिए ।
उनका अनुसार हाल कञ्चनपुरको भीमदत्तनगरपालिका–४ बसपार्क, कैलालीको धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बासपार्क, डडेल्धुराको बागबजार बसपार्कका साथै स्याउलेमा समेत नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको छ । बैतडी सदरमुकामस्थित बसपार्क, डोटीको पिपल्ला बसपार्क, अछामको मङ्गलसेन, बझाङको सिमखेत बसपार्क, बाजुराको मार्तडी तथा दार्चुलाको खलङ्गा बसपार्कमा सहायता कक्ष स्थापना गरिएको छ ।
सहायता कक्षमा यात्रुको पीरमर्का सम्बोधन गरिनुका साथै ट्राफिक व्यवस्थापन, चालकको अवस्था, मापसे जाँचलगायतका काम गरिने प्रहरी निरीक्षक जोराले बताए ।
प्रतिक्रिया दिनुहोस्