टी–२० विश्वकप छनोट क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा, ऐरीको ३ वर्षपछि कमब्याक

काठमाडौं,  असोज १५ ।  मलेसियामा यही अक्टोबर ३ देखि सुरु हुने टी–२० विश्वकप क्रिकेट छनोटको एसिया उप–क्षेत्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ।
टोलीमा लामो समयपछि प्रदिप ऐरीले स्थान बनाउन सफल भएका छन् । ऐरीले ३ वर्षपछि राष्ट्रिय टिममा कमब्याक गरेका हुन् ।
त्यस्तै शरद भेषावकर पनि टोलीमा अटाएका छन् । नेदरल्याण्ड विरुद्ध पहिलो एकदिवसीय खेल्ने क्रममा हातमा चोट लागेका कारण भेषावकरले एसिया कप छनोट खेल्न पाएका थिएनन् ।
आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले चयन गरेको टोलीमा पारससंगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार शाह, बसन्त  रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, सन्दिप  लामिछाने, र सोमपाल कामी रहेका छन्।
नेपालले आफ्नो पहिलो खेल अक्टोबर ३ मा म्यानमारसँग खेल्नेछ। यस्तै दोस्रो खेलमा मलेसियासँग, तेस्रो खेलमा थाइल्याण्डसँग, चौथो खेलमा भुटानसँग, पाँचौ खेलमा चीनसँग र छैटौं तथा अन्तिम खेल सिंगापुर विरुद्ध खेल्नेछ। नेपाली टोली सोमवार मलेसिया जाँदैछ ।
प्रतिक्रिया दिनुहोस्