इन्डोनेसियामा शक्तिशाली भूकम्प र सुनामीः मृतकको संख्या ८ सय ३२ पुग्यो, १६ लाख मानिस प्रभावित Jagaran News Published On : 1 October, 2018 1:54 am कठमाडौं, असोज १५ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मर्नेको संख्या ८ सय ३२ पुगेको छ । भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धारको प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् । तटीय शहर पालुस्थित एउटा होटल र किनमेल केन्द्रको भग्नावशेषभित्र फसेकाहरुको उद्धार गर्न विभिन्न टोली सक्रिय रहेका छन् । ८० तले होटलको भग्नावशेषबाट मानिसहरुले गुहार मागिरहेको सुनिएको बताइएको छ । भग्नावशेषभित्र पनि मोबाइल फोनका संकेत प्राप्त भएको जनाइएको छ । भग्नावशेष पन्छाउने ठूला उपकरण नभएका कारण उनीहरुलाई उद्दार गर्न कठिन भएको छ । भग्नावशेषहरु हातले नै पन्छाउँदै उद्धार थालिएको छ । अझै कतिपय ठाउँमा भत्किएका संरचनाभित्र कति मानिसको मृत्यु भएको छ भन्ने एकीन हुन सकेको छैन । ती ठाउँमा हजारौं मानिसको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । इन्डोनेसियामा शक्तिशाली परकम्पहरु अझै गइरहेका छन् । धेरै अस्पतालमा समेत क्षति पुगेका कारण अस्थायी टहरा बनाएर घाइतेहरुको उपचार भइरहेको छ भने फेला परेका शवलाई सडकको छेउमा थुपारिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्