निर्मला हत्या प्रकरण छानबिन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण

काठमाडौं, असोज १४ ।  सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सप–सचिव विरेन्द्रबहादुर केसी चढेको गाडीमा तोडफोड भएको छ ।
राजधानी गोदावरी सारेको विरोधमा आम हड्ताल घोषणा गरेका धनगढीबासीले बन्दको अवज्ञा गरेको भन्दै गाडीमा तोडफोड गरेका हुन् । धनगढी विमानस्थलबाट कार्यालय आइरहेका उनी सवार गाडीमा आन्दोलनकारीले राजपुरमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।
केसीलाई विमानस्थलमा लिन गएको बा१झ ९७०३ नम्बरको गाडीमा आन्दोलनकारीले पछाडीबाट ढुंगा हानेको कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरि ओलीले बताए ।
गाडीको सीसा फुटेका कारण केसीको टाउकोमा सीसाका टुक्राहरु लागेको भए पनि टोपी लगाएका कारण खासै चोट नलागेको जनाइएको छ । केसी निर्मला हत्या प्रकरणको छानबिनका लागि बनेको उच्चस्तरीय छानबिन टोलीका सदस्यसमेत थिए ।
कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले केसी चढेको गाडी र विभिन्न पसल तथा गाडीमा ढुंगा प्रहार गरेको आशंकामा ७ जनालाई पक्राउ गरिएको जानकारी दिए ।
यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्वर ३ चटकपुरमा रहेको शिवाङ्ग ट्रेडर्स तथा कार डेकोरेशन सपमा पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । सञ्चालक विवेक शर्माका अनुसार दिउँसो मोटरसाईकलमा आएका बन्दकर्ताहरुले एक्कासी पसलमा ढुंगा प्रहार गरेको बताए ।
ढुंगा प्रहारबाट पसलमा सामान्य क्षति भएको छ । बन्दकर्ताहरुले धनगढीमा सञ्चालित ईलेक्ट्रोनिक रिक्सामा पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आरोपमा सातजना पक्राउ

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय सरकारी छानबिन समितिका सदस्य बिरेन्द्र केसी चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनापछि उनीहरुलाई धनगढीका विभिन्न स्थानबाट पक्राउ गरिएको कैलालीका एसपी बिनोद घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्