काठमाडौं, असोज १४ । बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको दावी गरेका छन् ।
गृहजिल्ला गुल्मी आइपुगेका गृहमन्त्री थापाले अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी भएको बताए । ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्,’ गृहमन्त्री थापाले भने, ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’
शान्ति स्थापनापछि औपचारिक कार्यक्रमका लागि पहिलो पटक गृहजिल्ला आएका थापाले तमघासमा विश्व मुटु दिवशको उपलक्ष्यमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।
विभिन्न खाले गतिविधिले अपराधीमाँझ सरकार कडा रुपमा प्रस्तुत भएकै कारण सरकारलाई गिराउने षड्यन्त्र भइरहेको थापाको जिकिर थियो । थापाको जन्मस्थल मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन हेलिकप्टरमार्फत गृहमन्त्री थापा गुल्मी आइपुगेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री थापाले सम्मृद्ध नेपाल, सुखी नेपाली सरकारको नारामा स्वस्थ नेपाल नारा थप्नुपर्ने समेत बताए । विकास र समृद्धिले मात्र नेपालीको सुख हुने कुरा उनले दो(याएका छन् ।
प्रतिक्रिया दिनुहोस्